श्रवण देव २८ फागुन, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको अनुहार पुरै मलिन देखियो । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन...
श्रवण देव
२८ फागुन, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुको अनुहार पुरै मलिन देखियो । मोर्चाका नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अनिल झासहितका नेताहरु चिन्तित मुद्रामा सप्तरी प्रवेश गरे । र, चिन्ताकाबीच आक्रोश पोखे ।
सप्तरीको मलेठ गाविसमा गत फागुन २३ गते प्रहरीको गोली लागि मृत्यु भएका पाँच जनालाई श्रद्धाञ्जली व्यक्त गर्न शनिबार दिउँसो राजविराज आएका यी तीन नेताले भने, ‘अब आन्दोलनको विकल्प छैन ।’
श्रद्धाञ्जली व्यक्त पश्चात शव यात्रामा सहभागी हुन आ(आफ्नो गाडीमा बसेका नेताहरुले गाडीबाटै संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता भइसकेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘समर्थन फिर्ता भइसकेको छ । औपचारिकता दिन मात्रै बाँकी छ ।’उनले समर्थन फिर्ता भइसकेको भनेर बुझ्न सबैसँग आग्रह गरे । ‘अन्याय, अत्याचार र विभेदबिरुद्ध आन्दोलन शुरु गर्ने बताउँदै उनले एक(दुई दिनमै आन्दोलन घोषणा गरिने बताए ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारलाई सात दिनको समय बित्न दुई दिन बाँकी रहेको बताउँदै यो अवधीमा स्वतः समर्थन फिर्ता हुने बताए । उनले समर्थन फिर्ता लिएपछि तत्कालै आन्दोलन शुरु गर्ने जानकारी दिए । मलिन स्वरमा बोलेका उनले भने, ‘अब अन्याय, अत्याचार सहन्नौं ।’
नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल कुमार झाले सरकारलाई दिएको एक हप्ताको समय सकिनेबित्तिकै आन्दोलन प्रारम्भ हुने उदघोष गरे । उनले अब हुने आन्दोलन शान्तिपूर्ण नै हुने बताए ।
शव यात्रा प्रारम्भ
प्रहरीको गोली लागि मृत्यु भएका मलेठ गाविसका सञ्जन मेहता, बिरेन्द्र महतो, पिताम्बर मण्डल, प्रसवनी गाविसका आनन्द साह र जमुनी मधेपुरा गाविसका इनरदेव यादवप्रति यादव, महतो, झासहितका मोर्चा नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाल सदभावना पार्टी (गजेन्द्रवादी० का अध्यक्ष विकास तिवाारी, सदभावनाका उपाध्यक्षद्वय मृगेन्द्र कुमार सिंह यादव र नवलकिशोर साह, संघिय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झा, तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री जयप्रकाश ठाकुरसहित मोर्चामा आबद्ध सात वटै दलका जिल्ला अध्यक्षले सामूहिक रुपमै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली अर्पण पश्चात निकालिएको शव यात्रा राजविराज नगरपालिकाको बिभिन्न भाग परिक्रमा गर्दै अघि बढेको छ । हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी हुँदै लहानसम्म पुगेर शव यात्रा टुङ्ग्याइने मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जानकारी दिए ।
शव यात्रामा हजारौंको सहभागिता छ । राजविराजबाट सबै रुटमा चल्ने बस, माइक्रो, म्याजिकसहित निजी सवारीसाधन भएकाहरुले स्वतःस्फूर्त रुपमा आ(आफ्नो सवारीसाधन उपलब्ध गराएका छन् ।
तिन सयभन्दा बढी सवारी साधन शव यात्रामा लामबद्ध छन् । सर्वसाधारणले पनि उल्लेख्य रुपमा सहभागिता जनाएका छन् ।
COMMENTS